जलाशययुक्त उत्तरगङ्गा जलविद्युत आयोजनाको ‘भौगर्भिक अध्ययन’ हुने



बाग्लुङको बोवाङ, ढोरपाटनमा बन्ने तीनसय मेगावाट क्षमताको उत्तरगङ्गा जलाशययुक्त आयोजनाको प्रारम्भिक काम सुरु हुने भएको छ। 
 
सरकारी प्राथमिकतामा परेको सो आयोजनाको छिट्टै भौगर्भिक अध्ययन हुने भएको छ। आयोजना प्रमुख शिवबाला गिरीले देशको परिस्थिति सहज हुने वित्तिकै काम अघि बढ्ने बताए। विद्युत् विकास विभागले दिएको सर्वेक्षण अनुमतिपछिका सबै कानुनी प्रक्रिया सकिएपछि आयोजना निर्माणले गतिलिने भएको हो। 
 
“इन्धन सङ्कट, यातायातको असहजता जस्ता कारणले भौगर्भिक अध्ययन–सर्वेक्षणको काममा ढिलाइ भइरहेको छ” उनले भने। ढोरपाटन सिकार आरक्ष क्षेत्रमा बन्ने आयोजना भएकाले वन मन्त्रालयको अनुमति लिन पक्रिया लम्बिएको हो। वन मन्त्रालयले अनुमति दिएपछि सबै कानुनी प्रक्रिया पूरा भएको गिरीले बताए। 
 
एक खर्ब २५ अर्ब रुपैंयाको लगानीमा बन्ने सो आयोजना सात वर्षभित्र पूरा गर्ने लक्ष्य छ। ढोरपाटन उपत्यकामा जलाशय बनाई ‘टनेल’मार्फत् एकहजार ३६५ मिटर टाढाको निसी गाविसमा बन्ने विद्युत् गृहमा पानी खसालिनेछ। “हिउँद र गर्मी याममा एकनासको विद्युत् उत्पादन गर्न सकिने छ” उनले भने। 
 
जलाशययुक्त भएकोले यो नमुना योजनाका रुपमा रहेको छ। इन्धन र यातायातको सहजतापछि प्राविधिक समूह सर्वेक्षणका लागि ढोरपाटन पठाउने तयारी भइरहेको आयोजना प्रमुख गिरीले बताए। भौगोलिक विकटता र यातायात असहजताका कारण ठूला उपकरणहरु आयोजना स्थलसम्म लैजान कठिनाइ भइरहेको छ। 
 
ढोरपाटन क्षेत्रमा बग्ने उत्तरगङ्गा खोलामा हिउँदमा पनि पानीको मात्रा बढी हुने भएकोले सरकारले जलाशययुक्त आयोजना बनाउन लागेको आयोजना प्रमुख गिरीले भनाइ छ । तर आयोजना क्षेत्रका स्थानीय बासिन्दा आफू विस्थापित हुने डरले आयोजनाप्रति असहमति राख्दै आएका छन। उत्तरगङ्गाको संरक्षणका लागि बनेको उत्तरगङ्गा समितिले आयोजना निर्माणका लागि नेपाली कम्पनीलाई जिम्मा दिनुपर्ने माग अघि सारेको छ। रासस

0 comments

Post a Comment
Powered by Blogger.