यातायातमा अझै सिन्डिकेट


    शुक्रबार १७ पुष, २०७२
    देवेन्द्र बस्नेत
 दाङ- स्थानीय प्रशासनले बुधबार अपराह्न दाङका सडकमा एकाएक बाक्लो संख्यामा प्रहरी परिचालन गर्योा। जंगल क्षेत्र तथा मान्छे भेला हुने हरेक स्थानमा सुरक्षाकर्मी बाक्लै परिचालन भएपछि भिभिआइपी वा भिआइपीको सवारी हुँदैछ भनी आँकलन गरियो। 

तर, यथार्थ फरक थियो। सडकमा बाक्लै छरिएका सुरक्षाकर्मी कुनै विशिष्ट अधिकारीको सुरक्षाका लागि नभई जिल्ला भित्रन लागेका नयाँ पाँच बसको सुरक्षार्थ खटिएका थिए। जिल्लामा केही समयदेखि चर्किएको यातायात सिन्डिकेट विवादले क्षति हुन सक्ने आँकलन गरेको स्थानीय प्रशासनले सम्भावित दुर्घटना रोक्न चाहन्थ्यो। तर, भइदियो त्यस्तै। प्रहरीकै कडा सुरक्षाबीच गन्तव्यतर्फ पठाउन थालेका पाँचवटै बस बिचबाटोमै तोडफोड भए।

भैरहवा नाकाबाट नेपाल प्रवेश गराइका मालिका कालिका प्रालिका पाँच 'एसी' सुविधासहितका बस बेलुका झण्डै पाँच बजेतिर दाङ प्रवेश गरे। प्रहरीले ति बसलाई स्कर्टिङ गरेर तुलसीपुर पुर्यााउँदै थियो। तर, चल्ती बसमै ढुंगा बर्सिए। अन्धाधुन्द ढुंगा प्रहारबाट पाँचवटै बसका सिसा फुटेका छन्। 'लमही आइपुग्दा झमक्कै साँझ परिसकेको थियो,' बसका एक चालक टीका वलीले भने, 'चल्ती गाडीमै ढुंगा हानिएपछि बसको सिसा फुटेका छन्। बसमा ढुंगा मात्रै हैन, तरबारै हानिएको थियो।'

तोडफोडकैबीच लमही छिचोलेका ति बसमाथि लमही–घोराही सडकखण्डको गोग्लीमा पुनः उस्तै आक्रमण भयो। त्यो आक्रमणमा पनि गाडीका सिसा फुटे। घोराही बजारकै थप दुई स्थानमा पनि उस्तै आक्रमण गरियो। 'तुलसीपुर आइपुग्दासम्म चार ठाउँमा हानियो,' चालक वलीले भने, 'धन्न हामीलाई ढुंगा लागेन, बाँचियो।' प्रहरीको कडा सुरक्षाबीच तुलसीपुर ल्याइएका ती बस अहिले सुरक्षाका लागि सशस्त्र प्रहरी बलको तुलसीपुर ब्यारेकभित्र राखिएका छन्।

प्रहरीले बसमा आक्रमण गर्नेलाई अज्ञात भनेको छ। तर, यो घटना भने सिन्डिकेट विवादले निम्त्याएको हो। सरकारले यातायात क्षेत्रमा लाग्दै आएको सिन्डिकेट प्रणाली खारेज गरे पनि व्यवहारमा लागू भएको देखिन्न। तुलसीपुरमा भर्खरै खुलेको मालिका कालिका यातायात प्रालि र राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिबीच चर्को विवाद छ। दाङमै अर्को यातायात कम्पनी खुलेपछि पुरानो व्यवसायीको संगठन राप्ती सार्वजनिक यातायात व्यवसायी समितिले एकाधिकार गुम्ने डरले अवरोध पुर्याुएको मालिका कालिका प्रालिले आरोप लगाएको छ। 'हामीलाई गरिखान लागेको रिस साँधिएको छ,' प्रालिका महासचिव गेहेन्द्र वलीले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनमा भने, 'हाम्रा गाडीमा भएको तोडफोड गर्ने राप्ती समितिकै केटाहरू हुन्।'

बुधबार मालिका कालिका प्रालिले नयाँ बस जिल्ला भिœयाउन लागेपछि जिल्लाका सवै बजार क्षेत्रमा दुई समूहको ठूलो जत्था बसेको थियोे। प्रहरीका अनुसार एउटा समूह ति बसलाई रोक्ने प्रयासमा जुटेको थियो भने अर्को सुरक्षित रूपमा गन्तव्यमा पुर्या।उनका लागि तयारीमा लागेको थियो। 'बस आउन लागेको भन्ने भएपछि दुई ग्याङको छुट्टाछुट्टै समूह बन्न थाले,' वडा प्रहरी कार्यालय लमहीका प्रमुख, प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले भने, 'ती समूहको शक्ति प्रदर्शनले पनि दुर्घटना निम्तन सक्ने खतरा देख्यौं र, व्यापक सुरक्षा परिचालन गर्यौंब। तैपनि, चल्ती गाडीमा ढुंगा बर्साइँदा केहीमा क्षति पुगेको छ।'

गत मंसिर २१ ग्ाते दाङ–काठमाडौं एसी बस सञ्चालनका लागि तुलसीपुरमा कालिका मालिका यातायात प्रालिको घोषणा गरिएको थियो। उक्त घोषणापश्चात राप्ती समिति असन्तुष्ट बनेको थियो। राप्ती समितिले मंसिर २६ गते पत्रकार सम्मेलन गरेर उक्त प्रालिको विरोध गरेको थियो। सोही दिनदेखि नै राप्ती समितिले मालिका कालिका प्रालिका पदाधिकारी तथा भौतिक संरचनामा समेत क्षति पुर्याोउन थालिएको प्रालिको आरोप छ। 'मलाई २८ गते युवाको समूहले आक्रमण गर्यो ,' प्रालिका महासचिव वलीले भने, 'त्यसको भोलिपल्ट हाम्रै समितिका सदस्य टोपेन्द्र डाँगीलाई अपहरण गरेरै मरणासन्न हुने गरी कुटिएको थियो।' यसअलावा टिकट काउन्टरमा समेत पटक पटक तोडफोड गरिएको पनि उनले बताए। 'उता, लमहीमा बस फोडिए, गएराति नै काउन्टरमा पनि सिसा फोडिएको छ,' वलीले भने।

दुई समितिबीचको विवादले दुर्घटना निम्तन सक्ने खतरा तुलसीपुरबासीले आँकलन गरेका छन्। बुधबार कालिका मालिका प्रालिले पाँच वटा एसी बस जिल्ला भिœयाएपछि राप्ती समितिले बिहीबार चारवटा नयाँ एसी बस तुलसीपुर बजारभर गुडायो। राप्ती समितिले गरेको शक्ति प्रदर्शन हेर्नेको भीड नै लागेको थियो। राप्ती समितिले पनि केही दिनअघि दाङ–काठमाडौं एसी बस सेवा सुरु गरेको छ। पुस १८ (भोलि) देखि दाङ–काठमाडौं बस सञ्चालन गर्ने तयारीमा मालिका कालिका प्रालि रहे पनि चल्ती बसमै भएको तोडफोडले सुरक्षा चुनौती थपिँदै गएको छ। तथापि, १८ गतेदेखि नै बस सेवा सुरु गर्ने प्रालिले जनाएको छ। 'हामीले १८ गतेदेखि बस सेवा सञ्चालन गर्ने भनेका छौं,' प्रालिका अध्यक्ष सुमन पोख्रेलले भने, 'हामी पनि आफ्नो सुरक्षाका लागि आफैं तयारी गरेर हिँड्छौं।' स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउने अधिकार संविधानमै ग्यारेन्टी भइसकेको अवस्थामा समेत सिन्डिकेट लादेर एकाधिकार जमाउन खोज्नेको धम्कीले व्यवसाय बन्द नगर्ने उनले बताए। 'स्वच्छ प्रतिस्पर्धा गरेर उनीहरू किन अगाडि बढ्न नसक्ने?' अध्यक्ष पोख्रेलले भने, 'अर्काले गरेर खाएको रिस गर्ने?' कालिका मालिकाले आफ्नो व्यवसाय सञ्चालनका लागि पूर्ण सुरक्षा प्रदान गरिदिन स्थानीय प्रशासनसँग आग्रह गरेको छ।

यता, बस सञ्चालन गर्ने मिति नजिकिँदै जाँदा यो प्रालिअन्तर्गतका बस चालकलाई उत्तिकै धम्की आउने गरेका छन्। चालकका अनुसार केही व्यक्तिले फोनमार्फत ज्यान मार्ने धम्की समेत दिने गरेका छन्। 'त्यहाँ गएर गाडी चलाइस् भने सिधै मर्छस् भनेर धेरैपटक फोन आइसके,' चालक टीकाले भने, 'म हिजो गाडी लिएर आउँदै गर्दा पनि तलाई पुर्ने खाल्डो तयार छ चाँडै आइज भनेर फोनमा धम्की आएको थियो।' मजदुरलाई निसाना बनाइनु गलत भएको चालक बताउँछन्। 'हामी मजदुर हौं, मजदुरी गरेर खाने मान्छे जहाँ गएर पनि काम गर्न पाउनुपर्छ,' अर्का चालक सुवर्णजंग राजभण्डारीले भने, 'हामीलाई निसाना नबनाइयोस्।'

यता, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिले भने नयाँ प्रालिलाई बस सञ्चालनका लागि आफ्नो कुनै अवरोध नरहेको बताउँछ। बुधबार प्रालिका बसमा भएको तोडफोडमा कुनै हात नरहेको समेत समितिको दाबी छ। 'बसमा भएको तोडफोडमा राप्ती समितिका कसैको पनि संलग्नता छैन,' समितिका वरिष्ठ उपाध्यक्ष भरतनाथ योगीले भने, 'हामीमाथि गलत आरोप लगाइनु राम्रो होइन।' स्वच्छ प्रतिस्पर्धाका लागि कुनै अवरोध नहरने बताए पनि राप्ती समितिले पुराना गाडी भने सञ्चालन गर्न नदिने बताएको छ। 'अब पुराना गाडी सञ्चालनमा रोक लगाउने भन्ने रणनीति अनुरूप पुराना गाडीलाई चलान दिइने छैन,' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका राप्ती संयोजक समेत रहेका योगीले भने। उता, रुकुममा पनि छुट्टै यातायात प्रालि खुलेपछि त्यहाँ पनि विवाद देखिएको छ। राप्ती अञ्चल बस समिति र त्यहाँ खुलेको यातायात प्रालिबीच दाङमा जस्तै विवाद रहेको योगीले बताए। उनका अनुसार नयाँ प्रालिका गाडीलाई प्रहरीले स्कर्टिङ गरेर सञ्चालन गरिरहेको छ। उनले यि सबै विवाद तत्काल साम्य भएर स्वच्छ प्रतिस्पर्धाको वातावरण बन्ने बताए।

0 comments

Post a Comment
Powered by Blogger.