सन् २०१५ मा घटेका यी हुन मुख्य १५ घटना


पुस १७ - अंग्रेजी क्यालेन्डर अर्थात इस्वी संवतको वर्ष २०१५ बिहीबारदेखि बिदा हुँदै आजबाट २०१६ शुरु भएको छ । गएको वर्ष अर्थात् २०१५ मा विश्वभर विभिन्न घटना, दुर्घटना, प्राकृतिक विपत्ति, विकास तथा विस्तारका काम भए ।
नेपालमा वैशाख १२ को भूकम्प, संविधानसभाबाट संविधान निर्माण र नाकाबन्दीले संसारको ध्यान तान्यो भने यसवर्ष संसारका अरु ठाउँमा भएका घटना पनि नेपालको लागि उत्तिकै चासो र सरोकारको विषय बन्यो । सन् २०१५ नेपालमा भएका मुख्य घटनामा संविधान जारी, त्यसको समर्थन, विरोध, आन्दोलन र भारतीय नाकाबन्दी रह्यो ।
१) तत्कालिन नेकपा माओवादी र मुख्य तीनदलबिचको सहमति अनुसार २०६२/०६३ को जनआन्दोलनको उपलब्धी स्वरुप भएको २०६४ सालको संविधानसभा निर्वाचनले संविधान दिन सकेन । तर २०७० मंसिरमा भएको दोस्रो संविधानसभा चुनावले पहिलो संविधानसभाको स्वामित्व ग्रहण गरी गएको असोज ३ गते संविधानसभा मार्फत नागरिकका प्रतिनिधिले बनाएको गणतन्त्र नेपालको संघीय संविधान, नेपालको संविधान २०७२ जारी भयो ।
तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गरेसँगै त्यसको स्वागतमा देशका विभिन्न भागमा दीपावली तथा खुसीयाली मनाइयो । तर संविधानमा आफ्नो अधिकार तथा माग नसमेटिएको भन्दै मधेसकेन्द्रीत दलले आन्दोलन चर्काए । मधेसी मोर्चाका कार्यकर्ताले असोज ७ गतेदेखि नेपाल भारत सीमा नाका धर्ना सुरु गरेपछि भारतले असुरक्षाको कारण देखाउँदै अघोषित नाका बन्दी गर्यो ।
नाकाबन्दीका कारण इन्धनसहित दैनिक उपभोग्य सामान आयात हुन नसक्दा नेपालमा मानवीय संकटको अवस्था आएको छ । संयुक्त राष्ट्रसंघ, विभिन्न दातृ निकाय, देश तथा समुदायको विरोधका कारण गएको केही दिनदेखि भारतले केही नाका खुकुलो बनाएको छ । मुख्य नाका रक्सौल ठप्पै छ । अवस्था अहिले पनि उस्तै छ । मधेसी मोर्चाका नेतालाई प्रमुख दलले सहमतिमा ल्याउने प्रयास गरिरहेका छन् ।
२) गएको वैशाख १२ अर्थात अप्रिल २५ का दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टरस्केलको भूकम्पले विश्वको ध्यान नेपालमा केन्द्रित गर्यो । भूकम्पका कारण ९ हजार भन्दा धेरै मानिसको ज्यान गयो भने २३ हजार भन्दा धेरै घाइते भए ।
भूकम्पका कारण अति प्रभावित १४ तथा प्रभावित ३१ जिल्लामा गरी ८० हजार भन्दा धेरै घर भत्किएका छन् । भूकम्पका कारण सबैभन्दा बढी प्रभावित बन्यो सिन्धुपाल्चोक । यस्तै काठमाडौं उपत्यकामा पनि धेरैको ज्यान गयो भने विभिन्न ऐतिहासिक धरोहर भत्किए । पुनर्निर्माण विधेयक २०७२ संसदबाट पारित गरेर सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन गरेको छ । प्राधिकरणले बल्ल काम सुरु गरेकाले चिसो मौसमका न्यानो लुगा नभएका भूकम्प पीडितको बिचल्ली भएको छ ।
३) अन्तर्राष्ट्रिय स्तरमा यो वर्षको महत्वपूर्ण घटना बन्यो युरोपमा आप्रवासीको प्रवाह । आप्रवासी समस्या यो वर्ष दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा सघन बनेको शरणार्र्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग युएनएचसीआरले जनाएको छ । वर्ष २०१५ मा समुद्री मार्ग भएर अवैध रुपमा युरोप प्रवेश गर्ने आप्रवासीको संख्या १० लाख नाघ्यो । यसमा सबै भन्दा धेरै द्वन्द्वग्रस्त मुलुक सिरियाका नागरिक छन् । युरोप प्रवेश गर्ने मध्ये ८० प्रतिशत आप्रवासी ग्रिसको बाटो भएर आएको युएनएचसिआरले जनाएको छ ।
युरोप प्रवेश गर्नेमध्ये ८० प्रतिशत आप्रवासी ग्रिसको बाटो भएर आएको युएनएचसिआरले जनाएको छ । अन्तर्राष्ट्रिय संरक्षणको खोजी तथा आफ्नो देशमा रहेको युद्ध, हिंशा तथा उत्पीडनबाट बच्नका लागि उनीहरु समुद्रको खतरनाक बाटो प्रयोग गरेर युरोप प्रवेश गरेको युएनएचसिआरले जनाएको छ । आप्रवासी समस्या समाधान तथा आप्रवासीको सुरक्षित आवासका लागि युरोपका जर्मनी सहितका देशले तदारुकता देखाए ।
४) मध्यपूर्वका सिरिया, इराक सहितका देशमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमण तथा युरोपसहितका पश्चिमा देशमा यसको बिस्तार वर्ष २०१५ मा भयो । नोभेम्बर १३ मा फ्रान्सको राजधानी पेरिसका चार ठाउँमा आइएसले गरेको आक्रमणमा परि एक सय ३० जनाको ज्यान गयो । त्यसअघि जुलाईमा टर्कीको सुरुसमा भएको आत्मघाती आक्रमणमा ३३ जनाको ज्यान गयो । तीन महिनापछि अंकारामा भएको दुई आत्मघाती आक्रमणमा एक सय दुई जनाको ज्यान गयो । आइएसले अक्टुबर ३१ मा इजिप्टको साइनाइमा रुसी विमानमा आक्रमण गर्दा विमानमा रहेका सबै दुई सय २४ जनाको ज्यान गयो । यस्तै आइएससँग सम्बद्ध दम्पतीले अमेरिकाको क्यालिफोर्निया राज्यको सान बर्नार्डिनोमा गरेको आक्रमणमा १४ जनाको ज्यान गयो ।
५) यो वर्ष पश्चिमासहित विश्वका अरु देश आतंकवाद विरुद्ध एकताबद्ध भए । अमेरिकाको नेतृत्वमा रहेको नेटो गठबन्धन सेनाले सिरिया तथा इराकमा आइएस विरुद्ध हवाई आक्रमण गरिरहेको छ । अमेरिकाका नेतृत्वको गठबन्धनमा नहेको बेलयती संसदले गठबन्धनमा सामेल हुने सम्बन्धी प्रस्ताव पारित गर्यो। पेरिस आक्रमणपछि फ्रान्स तथा जर्मनीले पनि आइएसविरुद्धको आक्रमण तीब्र पारेका छन् । उनीहरुले गठबन्धन सेनालाई सहयोग गर्न थालेका छन् । रुसले भने सिरियामा आइएसविरुद्ध छुट्टै हवाई आक्रमण गर्दै आएको छ । अमेरिकी सेनाले पछिल्लो एक महिनामा सिरिया तथा इराकमा भएको हवाई अक्रमणको क्रममा आइएसका १० उच्च कमाण्डर मारिएको जनाएको छ ।
६) यही वर्ष साउदी अरबले छिमेकी मुलुक यमनमा सैन्य हस्तक्षेप गर्यो । हुथी बिद्रोहीले यमनको राजधानी सना नियन्त्रणमा लिएर राष्ट्रपति अब्दु रब्बु मन्सुर हादीलाई अपदस्त गरेपछि साउदी अरबले अरु खाडी मुलुकको सहयोगमा हुथी विद्रोही विरुद्ध यमनमा हवाई कारवाही सुरु गरेको हो । यस्तै डिसेम्बरको सुरुमा साउदी अबरको नेतृत्वमा आतंकवाद विरुद्ध लड्न भन्दै ३४ देशको गठबन्धन बनाउने निर्णय पनि सार्वजनिक भयो । त्यसमा अधिकांश इस्लाम मुलुक छन् ।
७) साउदी अरबमा यो वर्ष भएको एउटा सकारात्मक परिवर्तनको विश्व समुदायले स्वागत गरे, त्यो थियो स्थानीय चुनावमा महिलाको सहभागिता । कट्टर इस्लामिक मुलुकमा गएको महिना भएको स्थानीय चुनावमा महिलाले मताधिकारको प्रयोग मात्र गरेनन्, उम्मेदवार पनि बने । सयौंको संख्यामा उठेका महिला उम्मेदवारमध्ये २० जनाले चुनाव जितेर नयाँ अध्यायको सुरुवात गरे ।
८) इरानको परमाणु कार्यक्रमका विषयमा भएको सहमति पनि चर्चाको विषय रह्यो । सन् २००२ देखिको समस्या गएको जुलाइमा विश्वका ६ शक्ति राष्ट्रसँग भएको सम्झौतापछि समाधान हुने बाटोमा छ । अमेरिकाले इरान परमाणु सम्झौता पूरा गर्ने बाटोमा रहेको भन्दै त्यसको स्वागत गरेको छ । परमाणु सम्झौता पूरा गर्नका लागि ठूलो मात्रामा युरेनियम देशबाट बाहिर पठाएर इरानले स्वागतयोग्य काम गरेको अमेरिकी विदेशमन्त्री जोन केरीले बताउनुभयो ।
इरानले पछिल्लो समय मात्रै ११ टन प्रशोधित युरेनियम रुस पठाएको अमेरिकी विदेशमन्त्री केरीले जानकारी दिनुभयो । सम्झौता अनुसार इरानले आफूसँग तीन सय किलो भन्दा धेरै प्रशोधित युरेनियम राख्न पाउने छैन । सम्झौता अनुसार इरानले आफ्नो प्रतिबद्धता पूरा गरे नगरेको निर्णय अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीले गर्नेछ । त्यसपछि अमेरिका तथा अरु शक्ति राष्ट्रले इरानमाथि लगाउँदै आएको आर्थिक प्रतिबन्ध हटाउन सुरुगर्ने छन् ।
९) फ्रान्सको राजधानी पेरिसमा भएको संयुक्त राष्ट्रयसंघीय जलवायु सम्मेलन कोप २१ मा कार्बन उत्सर्जन कम गर्ने विषयमा महत्वपूर्ण सम्झौता भयो । दुईहप्ता लामो छलफलपछि विश्वका एक सय ९५ देश कार्वन उत्सर्जन छिटोभन्दा छिटो कम गर्ने तथा विश्वको तापक्रम बृद्धी एक दलमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने सहमति भयो । सन् २०२० भित्र ग्रीन हाउस ग्यास तथा त्यसको स्रोतबिच सन्तुलन कायम गर्ने, कार्वन उत्सर्जन कम गर्नका लागि विकाशिल देशलाई विकसित देशले आर्थिक सहयोग बढाउने लगायतका कुरा सम्झौतामा उल्लेख छ ।
१०) पश्चिम अफ्रिकी देशमा दुई वर्षअघि देखि महामारीको रुपमा फैलिएको इबोलाको संक्रमण यो वर्ष रोकिने क्रममा गएको छ । स्वास्थ्यकर्मीक
ो अथक प्रयासपछि इबोलका कारण सबै भन्दा बढी प्रभावित भएका गिनी, सिएरा लियोन र लाइबेरिया यो वर्ष इबोला महामारी मुक्त घोषित भए । विश्व स्वास्थ्य संगठनले गएको मंगलबार गिनीलाई इबोला मुक्त घोषित गर्यो । त्यसअघि नोभेम्बरमा सिएरालियोन तथा सेप्टेम्बरमा लाइबेरिया इबोला मुक्त घोषित भएका थिए । इबोलाका कारण अहिलेसम्म ११ हजार तीन सय १५ जनाको ज्यान गएको डब्लुएचओको तथ्यांक छ । त्यसमध्ये सबैभन्दा धेरै लाइबेरियामा चार हजार ८ सय ८, सिएरालियोनमा तीन हजार ९ सय ५५, गिनीमा दुई हजार पाँच सय ३६ तथा नाइजेरियामा ८ जना छन् । इबोलाकै कारण एकसय भन्दा धेरै स्वास्थ्यकर्मीको पनि ज्यान गएको छ । महामारी मुक्त घोषित भएपनि इबोला संक्रमणको खतरा नटरेको भन्दै सचेत रहन डब्लुएचओले विश्वसमुदायसँग आग्र गरेको छ ।
११) चीन यो वर्ष प्रदुषण, दक्षिणी सीमानामा पर्ने समुद्रमा कृत्रिम टापु निर्माणका कारण उत्पन्न विवाद तथा क्रिकृम पहाड खसेर गएको पहिरोका कारण चर्चामा रह्यो । डिसेम्बरको सुरुवातमै राजधानी बेइजिङमा प्रदुषणको स्तर बढेपछि सरकारले रेड अलर्ट जारी गर्यो । प्रदुषणका कारण बाक्लो तुवाँलो लागेकालो डिसेम्बर ८ देखि १० सम्म बेइजिङका विद्यालय बन्द भए । यस्तै आफ्नो दक्षिणी सीमानामा पर्ने समुद्रमा यही वर्ष कृत्रिम टापु बनाएपछि अमेरिकाले त्यसको विरोध गर्यो । अमेरिकाले चीनमाथि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेर टापु बनाएको आरोप लगायो । टापु तत्काल भत्काउन अमेरिकाले गरेको आग्रह चीनले अस्वीकार गर्यो । यस्तै डिसेम्बरको तेस्रो हप्ता सेनचेन प्रान्तमा निर्माण सामग्रीको कृत्रिम पहाड खसेर पहिरो जाँदा ३० भन्दा धेरै भवन पुरिए भने झण्डै एकसय जना बेपत्ता भए । चीनको आर्थिक वृद्धीदर खस्किएको खबर पनि वर्ष २०१५ मा चर्चामा रह्यो ।
१२) विश्व बजारमा यो वर्ष कच्चा तेलको मूल्य ११ वर्ष यताकै सबैभन्दा कम भयो । डिसेम्बर २१ मा विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३६ दशमलव ०५ डलर पुग्यो । जुन सन् २००४ पछिकै सबैभन्दा कम थियो । अहिले तेलको मूल्य केही बढेको भएपनि घट्ने सम्भावना कामय रहेको विश्लेषकले बताएका छन् । विश्वभर तेलको उत्पादन बढी भएका कारण मूल्य घटेको हो । एकवर्ष पहिलेसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर थियो । सन् २०१४ को जुनमा तेलको मूल्य एक सय १५ डलर पुगेको थियो । अमेरिका तथा रुसको कच्चा तेलमा बजारमा लगातार पहुँच रहेकाले तेलको मूल्यमा तत्काल सुधार आउने सम्भावना नरहेको विशेषज्ञले बताएका छन् ।
सन् २०१६ मा इरानमाथिको प्रतिबन्ध हटेपछि उसले पनि तेल उत्पादन सुरु गर्ने भएकाले तेलको मूल्य अझै घट्ने सम्भावना छ । कच्चा तेल उत्पादन गर्ने देशको समूह ओपेकका १२ सदस्य राष्ट्रले गएको नोभेम्बरमा कच्चा तेलको उत्पादन प्रतिदिन तीन करोड ब्यारेल भन्दा नगर्ने निर्णय गरेको थियो ।
१३) माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई त्यहाँको एक अदालतले १३ वर्षको जेल सजाय दिएको खबर पनि चर्चामा रह्यो । सन् २००८ मा राष्ट्रपतिमा निर्वाचित भएका नसिदलाई सन् २०१२ मा बिद्रोहबाट अपदस्त गरिएको थियो । यस्तै वर्तमान राष्ट्रपति अब्दुलाह यामिनको हत्या प्रयास गरेको आरोपमा उपराष्ट्रपति अहमद अधिव पक्राउ परे । उपराष्ट्रपति अधिवमाथि राष्ट्रपति यामिन चढेको डुंगामा बम विस्फोट गराएको आरोप लागेको थियो ।
१४) म्यानमारमा भएको आमचुनावमा प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीको पार्टी अधिकांश सिटमा विजयी भयो । यो खबर विश्वका प्रमुख सञ्चारमाध्यममा पहिलो खबर बन्यो । २५ वर्षपछि गएको नोभेम्बरमा भएको आम चुनावमा सुचीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले ६ सय ६४ सदस्यीय संसदका अधिकांश सिटमा जित हातपार्यो। म्यानमारका पूर्व सैन्य शासक थान श्वेले सूचीलाई समर्थन गर्ने खबरले पनि चर्चा पायो ।
१५) वर्षको सुरुमा फ्रान्सको व्यंग्य पत्रिका सार्ली एब्दोमा भएको आतंककारी आक्रमणमा ११ जनाको ज्यान गयो । पत्रिकामा प्रकाशित कार्टुनको विषयलाई लिएर अलकायदाको यमन पत्रिकाको कार्यालयमा जनवरी सातमा आक्रमण गर्यो । त्यसको दुई दिन पछि फ्रान्सकै सुपरमार्केटमा भएको अर्को आक्रमणमा थप ५ जनाको ज्यान गएको घटना चर्चामा रह्यो । पत्रिकाको कार्यालयमा भएको आक्रमणको विरोधमा ११ जनवरीमा पेरिसमा भएको राष्ट्रिय एकता र्यालीमा विश्वका ४० उच्च नेतासहित ३७ लाख मानिस सहभागी भए ।

0 comments

Post a Comment
Powered by Blogger.